काठमाडौँ, ६ चैत । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ ।
स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ । प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिनुभयो । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ ।

