नेपालगञ्ज, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।
नेपाल बार एशोसिएसनले आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ भन्नुभयो ।
‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानून व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ”, उहाँको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन्, यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनुपर्छ र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै उहाँले संविधान र कानूनको व्याख्यामा एकरुपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले कानून व्यवसायीले कानून कार्यान्वयन गराउन सहज भूमिका खेल्नुपर्छ भन्दै बरु १०० जना अपराधी छुटोस् तर, एकजना निरपराधीले सजाय पाउनु हुन्न भन्ने भावना र मान्यतामा भूमिका खोजिनुपर्छ भन्नुभयो । सम्मेलनमा मुलुकभरका करीब तीन हजार कानून व्यवसायीको सहभागिता रहेको छ ।

