काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।
बैठकको शुरुमै धारणा राख्नुभएका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति शेरबहादुर देउवाका कार्यशैली भएको आरोप लगाउनुभयो । नेता सिंहले आठ पृष्ठ लामो सुझाव एवं प्रस्ताव राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोग्नुपरेको थिएन भन्नुभयो ।
पार्टी सभापति देउवाले नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र स्थानीय तहको निर्वाचनमा पुष्पकमल दाहाल पुत्रीलाई प्रमुखामा जिताउन खेलेको भूमिका, काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टाका कारणे निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको नेता सिंहले आरोप लगाउनुभयो ।
मधेश केन्द्रित दललाई मनाउन काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्नु, मधेश केन्द्रित दललाई एकतर्फीरुपमा निर्वाचनमा उम्मेदवार नै नदिएर गुन लगाउनु र भारतले नेपालमा गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा बोल्न नसक्नु काँग्रेसका लागि दुर्भाग्य भएको नेता सिंहले टिप्पणी गर्नुभयोे ।
तत्कालिन प्रधानन्यायाधीशका विरूद्ध महाअभियोग लगाउने कुत्सित प्रयास गर्नु, नेपाल प्रहरीको एक जना डिआइजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने पार्टी सभापतिको रबैया, दुई वर्ष बितिसक्दा पनि उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभाग पूर्णता दिन नसक्नु निर्वाचनमा पराजयका कारण भएको पनि उहाँले बताउनुभयो ।काँग्रेसको निर्वाचन पराजयमा पार्टी सभापति, नेतृत्व विशेष वा कुनै एउटा पक्षलाई मात्र दोष देखाएर आफू चोखो बन्ने प्रयास कसैले पनि गर्नै नहुने बताउँदै उहाँले निर्वाचनमा पार्टीको पराजयलाई एउटै पाटोबाट मात्र जाँचेर नहुने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा अर्का पूर्वमहामन्त्री सिटौलाले संविधान घोषणापछिको सत्ता समीकरणमा नेतृत्वबाट गम्भीर त्रुटि भएको उल्लेख गर्नुभयो । पराजित हुने देख्दादेख्दै तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उठाउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पद सबै कम्युनिष्ट पार्टीको हातमा गएको उहाँले टिप्पणी गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई खुशी बनाउने नाममा स्थानीय तहको निर्वाचनमा चितवनमा काँग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाटै रद्द गर्दा काँग्रेसप्रति मनोवैज्ञानिक नकारात्मक असर परेको नेता सिटौलाले बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा विस्तृत समीक्षा शुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ ।
आजको बैठकमा उहाँ तीन जनाले मात्र धारणा राख्नुभएको थियो । बैठक भोलि पुनः बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलले जानकारी दिनुभयो ।

