लण्डन, बेलायत, ९ चैत । अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले शुक्रबार जनाएको छ ।
बेलायती अर्बुद रोग अनुसन्धान संस्थाका कार्यकारी प्रमुख हरपल कुमारले पछिल्लो समय धुम्रपानकर्ताहरूको दरमा कमी देखिन थालेको र मानिसमा मोटोपनाको समस्या बढ्दो देखिएपछि आएको अध्ययनले संसारको सवैभन्दा बढी मृत्युको कारक धुम्रपान मानिदै आएपनि मोटोपना क्यान्सरको प्रमुख कारक हुने बताउनुभयो ।
हामी सचेत बनेनाँै भने मोटोपनाको समस्या धुम्रपानभन्दा बढी खतरनाक बन्नेछ, कुमारले भन्नुभयो । “मलाई के लाग्छ भने क्यान्सर रोगका यी दुई कारकमध्ये मोटोपनाको कारण आउने समस्या आगामी एक दुई दशकमा उल्टिनेछ ।”
सन् २०१५ मा क्यान्सर रोगका कारकको अध्ययनका लागि लिइएको तथ्याङ्कको विश्लेषणपछि संस्थाले भनेको छ, “बेलायतमा अर्बुद रोगबारे गरिएको अनुसन्धानबाट कुनैपनि व्यक्तिको जीवनशैलीमा ल्याउन सकिने परिवर्तनले ३७.७ प्रतिशत क्यानसरजन्य रोगलाई रोकथाम गर्न सकिन्छ ।”
धुम्रपान नगर्नु क्यानसरसम्बन्धि समस्याबाट बच्नका लागि अपनाउन सकिने एउटा प्रमुख उपाय हो । धुम्रपान गर्ने बानी हटाउँदा १५.१ प्रतिशत समस्याको रोकथाम गर्न सकिने संस्थाले बताएको छ ।

