बेनी, म्याग्दी, १८ चैत । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताउनुभयो ।
बेली गाउँ यतिबेला शोकमा छ । वैदेशिक रोजगारीका लागि मलेशिया गएका मालिका–२ बेलीका धर्मलाल रोकाको सुतेकै अवस्थामा मलेशियामा मृत्यु भएपछि गत बिहीबार स्व रोकाको शव जिपको हुटमा बाकसभित्र राखेर घरमा पु¥याइएको थियो । एकै परिवारका तीनभाइ छोराको विदेशमा मृत्यु भएपछि शोकमा डुबेको बेली गाउँबाट स्व धर्मलाल रोकाको मलामीमा पनि पुरुष अत्यन्त कम देखिन्थे । छोराको शव घरमा आएपछि शोकले विह्वल भएका स्व रोकाका बुबा धनबहादुर र आमा लिलमती रोकालाई सम्हाल्ने र सम्झाउने पुरुष पनि त्यहाँ थिएनन् ।
यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदुरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् । गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताउनुभयो । टेकी विक विगत ४ वर्षदेखि बेली गाउँको खोल्सामा पानी घट्ट चलाउँदै आउनुभएको छ ।

