यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन, स्कुल बस निर्देशिका पनि जारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, १८ चैत ।यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ । संशोधित र नयाँ जारी भएका निर्देशिका आजैदेखि लागू हुने विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । संशोधन भएका कार्यविधिमा यातायात व्यवस्थापन–२०६०, मालवाहक सवारीको भारवहन नियमन–२०७१ र सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन–२०६९ छन् ।

यसैगरी नयाँ जारी भएका कार्यविधिमा कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, बाटो ९रुट० निर्धारण निर्देशिका, बस बडी बिल्डिङ मापदण्ड, मझौला तथा साना सवारी परीक्षण निर्देशिका र सवारी प्रदूषण परीक्षण निर्देशिका रहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । कार्यविधिमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ मा हालसम्म भएका संशोधनलाई समेटिएको छ ।

सरकारद्वारा स्कुल बस निर्देशिका जारी

सरकारले ‘स्कुल बस निर्देशिका– २०७४’ जारी गरेको छ । यातायात व्यवस्था विभागले आज यहाँ पत्रकार सम्मेलन गरी सामुदायिक तथा निजी विद्यालयले विद्यार्थी बोक्ने बसलाई व्यवस्थित बनाउनका लागि निर्देशिका जारी गरेको विभागका निर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

उहाँले निर्देशिका जारी भएसँगै सबै विद्यालयमा नयाँ शैक्षिकसत्रदेखि लागू गरिने बताउनुभयो । निर्देशिकामा निजी तथा सामुदायिक दुवै विद्यालयका बसको रङ पहेँलो हुनुपर्ने, बस प्रतिघण्टा ३० किलोमिटरका दरले मात्र सवारी चलाउन पाउने, स्कुल बसका सवारी साधनका चालक र सहचालकले विद्यालयले तोकेअनुरुपको पोशाक लगाउनुपर्ने, चालक तथा सहचालक दुवैले अनिवार्यरुपमा परिचयपत्र बोक्नुपर्ने, भाडाका सवारी साधन भए अगाडि पछाडि विद्यालयको नाम, ठेगाना स्पष्ट देखिने गरी ब्यानर राख्नुपर्ने, भाडाका सवारी साधनले बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय पु¥याउनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

यसैगरी निर्देशिकामा भाडाका सवारीले भने पटके बाटो इजाजत लिनुपर्ने, बसको झ्यालमा ग्रिल तथा डण्डी राखिएको हुनुपर्नेछ, विद्यालय बसमा विद्यालयको ठेगाना, फोन नम्बरसमेत राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।