काठमाडौँ,२२ चैत । एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् ।
एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा कार्यदलस्तरमा सहमति जुटेको छैन । त्यस्तै केन्द्रीय समितिमा कुन पार्टीका कतिजना राख्ने भन्नेमा पनि विवाद छ ।
माओवादी नेताहरुले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ भने एमालेले सूर्य मात्रै राख्ने अडान लिएको छ ।
आगामी वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै दलले सकेसम्म यी विषयमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने प्रयास गरेका छन ।पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय समितिको बैठक तय गरेको छ ।

