सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काभ्रेपलाञ्चोक, २४ चैत ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ ।

काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङ, अभिभावक र महासंघका पदाधिकारीबीच भएको लामो छलफलपछि महासंघले उक्त निर्णय गरेको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै काभ्रेका वितरकलाई पाठ्यपुस्तक बिक्री गर्नुपर्ने जनाएको छ । सरकारी पाठ्यपुस्तक वितरण गरेबापत नाफा कम हुने हुनाले वितरकले जनकशिक्षा सामग्री केन्द्रसँग पुस्तक खरिद नगरेकाले काभ्रेमा पुस्तकको अभाव भएको भन्दै महासंघले नवीकरणमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

सरकारी पाठ्यपुस्तक वितरक हुन सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस चाहिन्छ भने शिक्षकलाई कमिसन दिनुपर्दैन । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रले पाएको छ भने कक्षा १ देखि ५ सम्म देशभरका १७ प्रेस तथा प्रकाशन समूहले जिम्मेवारी प्राप्त गरेका छन् ।