काठमाण्डौ,१० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणमा नेपाल आउने निश्चित भएको छ । दिल्लीले प्रस्ताव गरेको तिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदी सोही दिन नेपाल आउने पक्का भएको बालुवाटार श्रोतले जनाएको छ । आफ्नो कार्यकालमा मोदी तेश्रो पटक नेपाल आउन लाग्नु भएको हो । आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँबाट फर्केको एक सातापछि नेपाल आउने तय भएको हो । शिष्टाचार महापालसहितको टोली केही दिनपछि आउने भएपनि, सुरक्षा निकायका टोली भने काठमाडौं उत्रिइ सकेका छन् ।
उनीहरुले सुरक्षाको दृष्टिकोणबाट विभिन्न क्षेत्रको अवलोकन गर्न थालेका छन् । भारतीय प्रधानमन्त्री मोदी जनकपुर समेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ । मोदीलाई जनकपुरको १२ विगाहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रमको तयारी भइरहेको छ । अरुण तेस्रोको शिलान्यास त्यही पुगेर गर्ने कि, स्विच थिच्ने भन्ने विषय पनि छलफल भइरहेको छ । सानोभन्दा सानो विषयमा छलफलहरु आरम्भ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

