स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाई : सभापति देउवा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

 

काठमाडौँ, १२ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाई भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो । “पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रहेको छ,”– उहाँले भन्नुभयो । ठकुरीले देखेको सपना पुरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुने देउवाको भनाइ थियो । पूर्व प्रधानमन्त्री देउवाले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । फाउण्डेशनले गर्ने सामाजिक कामलाई सहयोग गर्न आफू सधैं तयार रहेको उहाँले बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनप्रीय नेता स्वर्गीय ठकुरीले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । “राम्रो मान्छेलाई जिवित अवस्थार्म सम्मान गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।
नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले ठकुरीको अभाव सधै खड्कने बताउनुभयो ।
ठकुरीका सुपुत्र विमलले बुबाको सपनालाई पूरा गर्ने बताउनुभयो । ठकुरीका अभिन्न मित्र तथा समाजसेवी दीपककुमार भण्डारीले ठकुरी सबैको मनमस्तिष्कमा बस्न सफल नेता भएको स्मरण गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष गजेन्द्रकुमार लामाले ठकुरीको नाममा सामाजिक काम गर्ने लक्ष्य सहित फाउण्डेशन स्थापना गरिएको बताउनुभयो । फाउण्डेशनका सचिव कृष्णजी खड्का, सदस्य गीता सिंखडा लगायतले ठकुरीको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा फाउण्डेशनले ठकुरीको स्मृतिमा निकालेको स्मारिका चक्रबहादुर ठकुरीको स्मृतिमाको पूर्व प्रधानमन्त्री देउवाले विमोचन गर्नुभयो । साथै देउवाले ठकुरीकै सम्झनामा भएको ब्याडमिन्टन प्रतियोगिताको विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । ठकुरीको २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाका नजिक निधन भएको थियो । ठकुरी विसं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद हुनुुहुन्थ्यो ।