मुक्तिनाथमा मोदीकाे भ्रमणले उघारेका धार्मिक पर्यटनको मार्गहरू..

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २९ वैशाख । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको आफ्नै विशिष्ट र अलौकिक पहिचान छ । भगवान् शिवको प्रतीकका रुपमा रहेको शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विशेष श्रद्धासमेत गर्ने भएकाले पनि मुक्तिनाथ क्षेत्रको फरक पहिचान नेपालको पर्यटन क्षेत्रमा रहँदै आएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा गरेको पूजाआजा तथा त्यसको प्रत्यक्ष प्रचारले नेपालको पर्यटन क्षेत्रको उन्नयनमा थप योगदान पुगेको व्यवसायीको भनाइ छ ।

नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको अन्नपूर्ण क्षेत्र, थोरोलङा भञ्ज्याङ, निलगिरि हिमाल र मुस्ताङको प्राकृतिक सुन्दरता तथा त्यस क्षेत्रको जनजीवन पनि पर्यटन प्रवद्र्धनको खास आधारका रुपमा रहेको छ ।

धार्मिक र प्राकृतिकरुपमा रहेको छुट्टाछुट्टै विशेषताले पनि यो क्षेत्र पर्यटनको प्रमुख आधार भएको व्यवसायीको भनाइ छ । छिमेकी मुलुकका कार्यकारी प्रमुखले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर नेपालको प्रमुख पर्यटकीय क्षेत्रको निःशुल्क प्रचार मात्रै गरिदिएका छैनन्, एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतीय नागरिकलाई सो क्षेत्रको भ्रमणका लागिसमेत प्रेरित गरिदिएको छ ।

नेपालकाबारेमा थाहा नपाएका र नेपाल आउन चाहनेलाई समेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रेरणा दिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल आउने पर्यटकको पहिलो रोजाइमा अन्नपूर्ण क्षेत्र, मुस्ताङ, थोरोङला भञ्ज्याङ पुग्ने इच्छा राख्छन् । हिमालपारिको जिल्लाका रुपमा रहेको मुस्ताङको आफ्नै विशेषतासमेत रहेको छ । सोही विशेषतालाई धार्मिक पर्यटनमा जोड्नसमेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी रहेको व्यवसायी बताउँछन् ।

सरकारले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई समेत राखेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण धार्मिक पर्यटनको महत्वपूर्ण पाटो बन्न सक्ने पर्यटन क्षेत्रका जानकारको भनाइ छ । रासस