काठमाण्डौ । वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्। आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।
निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।
वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
नदी अतिक्रमण बढ्न थालेपछि पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको सरोकारवाला निकाय बताउछन।तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत पश्चिमका अन्य जिल्ला पनि अचेल पहिलाको भन्दा छिटो डुबानमा पर्ने गरेको छ।

