फुजेल घटनाका सबै प्रतिवादीले पाए सफाइ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, २४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको छ ।

न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आज उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानूनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ । फैसलामा भनिएको छ, “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।”

“प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ”, फैसलामा भनिएको छ । घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाउनुभएको हो ।

उहाँहरुमध्ये छविलाल कारागारमा तथा अन्य सामान्य धरौटी र तारेखमा हुनुहुन्छ । अदालतमा आज वादीका तर्फबाट एक, जाहेरवालाका तर्फबाट चार र प्रतिवादीका तर्फबाट नौ जनाले बहस गर्नुभएको थियो । कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उहाँ सर्वाेच्च अदालतसमक्ष हाजिर हुनुभएको थियो । अदालतले सोही दिन उहाँलाई डिल्लीबजार कारागार चलान गरेको थियो ।

विसं २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।