गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सफाइ पाएका छविलाल पौडेल आज बिहान रिहा भएका छन्।
जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला आइतबार गरेको थियो।
उक्त आदेश अनुसार काठमाडौंको डिल्लीबजार कारागारबाट पौडेल रिहा भएका हुन्। हाल फरार रहेका रुद्र आचार्यबाहेक अन्य सबै अभियुक्तले सफाइ पाएका छन्।
गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले हिजो सफाई पाएसँगै आज जेलबाट रिहा भएका हुन्।छविलालको स्वागतका लागि उनका समर्थकहरु बाजागाजासहित कारागार पुगेका थिए।
अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो।
२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो।