दशैंका लागि टिकट लिन बसपार्क पुगेका यात्रुहरु खाली हात फर्के

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाण्डौ,५ असोज । बडा दशैंका लागि आज देखि खुल्ला गर्ने भनिएको अग्रिम टिकट बुकिङका लागि आज बिहानै नयाँ बसपार्क पुगेकाहरु टिकट बुकिङ खुला नभएपछि खाली हात फर्केका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा असोज १ गते देखि लागू हुने गरी पुनस् गरेको मूल्य बृद्धीको विरोधमा यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ आज स्थगित गरेका हुन् ।

यस अघी सरकारसंग भदौ ३१ गते व्यवसायीका मागका बारेमा सहमति गर्दै जाने गरी आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गर्नुभएको थियो ।