काठमाडौं- गत चैत पहिलो साता खानेपानी तथा सरसफाईमन्त्रीमा नियुक्त भएलगत्तै बिना मगरले मेलम्ची आयोजनास्थल नै पुगेर दसैंमा काठमाडौंका धारामा मेलम्चीको पानी आउने घोषणा गरिन्। मन्त्री मगरको उक्त घोषणासंगै काठमाडौमा यसको निकै हल्ला-खल्ला भयो। तर दसैं समाप्त भएको दुई महिनापछि सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी ठेक्का छोड्ने मनसायमा पुगेको छ।
आर्थिक अभाव भएको बाहाना देखाउँदै उसले मेलम्ची खानेपानी आयोजनालाई पत्र बुझाउन लागेको थियो। सिएमसीका आठ कर्मचारी इटाली भाग्न खोज्दा पासपोर्ट खोसिएको छ। आइतबार बेलुका उनीहरु इटाली उड्न लागेका थिए।
सिएमसीको म्याद पछिल्लो पटक सरकारले गत असारमा २ सय २० दिन थप गरेको थियो।
दोस्रो पटक पनि मन्त्री मगरले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दसैंमा पानी आउनेमा शंका नर्गन भनेकी थिइन्। तर उनको प्रतिबद्धता पूरा हुन त परकै कुरा, सुरुङकै काम पनि सम्पन्न भएन।
२०४७ सालदेखि सरकारका प्रायजसो भाषणमा समावेश हुन नछुट्ने विषय मेलम्चीको आयोजनाले कछुवाको गति लिएको थियो।
विभिन्न समयमा कम्पनीहरूले ठेक्का तोड्ने र सरकारको नीति परिवर्तन हुँदासमेत राष्ट्रिय गौरवको रुपमा राखिएको यो आयोजनामा ढिलाइ हुन थालेको नौलो विषय होइन। खानेपानी आयोजना सुरु भएदेखि हालसम्म १७ जना कार्यकारी प्रमुख यसले पाएको छ। खानेपानी काठमाडौं भित्राउन सुरुङ खन्ने कार्य भने पूरा भइसकेको छ।
२८ अर्ब खर्च
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ।
हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्याइएको आयोजनाका लागि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
अमेरिकी डलरको भाउ बढेसँगै आयोजना सम्पन्न हुन लागत पनि बढ्न पुगेको उनको भनाइ छ। लागत बढेपछि एसियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर लागत थप गरेर कुल लागत २ सय ८७ दशमलव ४ लाख अमेरिकी डलर पुर्याइएको हो।
आयोजना सुरु हुँदा एक अमेरिकी डलर बराबर ६४ देखि ६९ रुपैयाँ रहेको थियो। तर अहिने नेपाली मुद्राको अवमूल्यन भएर १ सय १५ रुपैयाँभन्दा बढी पुगेको छ। यस हिसाबले मात्र लागत २८ अर्ब पुग्ने पन्तले जानकारी दिए।
सन् २०१३ सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो। त्यसपछि २०१३ जुलाइबाट सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी)लाई दिइए पनि कम्पनीले नोभेम्बरबाट मात्र काम थालेको थियो।
७ अर्ब ७२ करोडमा सिएमसीसँग सम्झौता भएकोमा हेडवर्क्स र फिनिसिङको महत्वपूर्ण काम बाँकी रहँदै आयोजनाले ७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ। २०१८ मार्चमा आयोजना सम्पन्न गरिसक्ने गरी सिएमसीसँग सम्झौता थियो।
(याे समाचार nepallive.com बाट लिइएकाे हाे । )