काठमाडौँ, २२ माघ ।नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ ।
पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणमा पाकिस्तानले लिएको नीतिगत, कानूनी र व्यावहारिक पक्ष, त्यसमा आइपरेका चुनौती र समाधानका उपायबारे अध्ययन गर्नुहुनेछ । पुनःनिर्माणबाट प्राप्त अनुभव तथा ज्ञानलाई विपद् व्यवस्थापन न्यूनीकरणमा कसरी प्रयोग गरिएको छ भन्ने बारे पनि उहाँले जानकारी लिनुहुनेछ ।
पाकिस्तानमा सन् २००५ को भूकम्पपछि स्थापना भएको पुनःनिर्माण प्राधिकरणलाई राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । पाकिस्तानले हाल राष्ट्रिय विपद् व्यवस्थापन कोषको स्थापनासहित विपद् व्यवस्थापनको दीर्घकालीन वित्तीय व्यवस्थापनलाई अघि बढाएको छ ।

