चैत १० गतेदेखि एसइई परीक्षा , मर्यादित बनाउन निर्देशन

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारीसमेत लिनुभएको थियो । परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कूल एक हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराउनुभयो ।
उहाँले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य छ विषयको समानान्तर समूहबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार उत्तरपुस्तिका परीक्षणका लागि करीब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने गरिएको छ । यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।