मन्त्री अधिकारीसहित सातै जनाकाे शव काठमाडाैं ल्याइदैं

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सुकेटार,१६ फागुन । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ ल्याउने तयारी गरिएकाे छ। 

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।

त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पुर्याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। 

घटनास्थलमा रहेका ३ वटा शव रातभरी शुरक्षाकर्मीले कुरेर बसेका छन् ।“अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने । 

घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगेका थिए। प्रजिअ भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसेका हुन् ।