काङ्ग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Politics/राजनीति , Spiritual/अध्यात्म , March 9th, 2019

म्याग्दी, २५ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उहाँको आरोप थियो । “राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”, सभापति देउवाले भन्नुभयो । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताउनुभयो ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गर्नुभयो । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाउनुभयो । उहाँले वाइड बडी, सुनकाण्ड जस्ता अर्बौँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको बताउनुभयो । सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा काङ्ग्रेसको भविष्य नदेख्न अनुरोध गर्नुभयो । पार्टी भित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनुभयो । बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । रु ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा रु २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको काङ्ग्रेस म्याग्दीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिनुभयो ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe