भूउपग्रह सञ्चालन गर्न नेपाल र फ्रांन्सबीच सहमति

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडौँ, २६ फागुन । सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्न नेपाल र फ्रांन्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको छ दिवसीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । 

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) ले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ मा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको योजना कार्यान्वयन गर्न फ्रांन्स सरकारले नेपाललाई सहुलियतपूर्ण आर्थिक सहयोग तथा प्राविधिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई बताउनुभयो । 

नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रांन्स सरकारको स्वामित्वमा रहेको ‘इन्ग्रुपे’ कम्पनीबीच सुरक्षण मुद्रण स्थापना गर्ने तथा भूउपग्रह सञ्चालनसम्बन्धी समझादारीपत्रमा नेपाल दूरसञ्चार प्राधिकरण र फ्रांन्स सरकारको थालेस एलेनियाबीच हस्ताक्षर भएको जानकारी उहाँले दिनुभयो । दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम शुरु गर्ने तथा सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र भूउपग्रहसम्बन्धी काम तीस महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । 

प्यारिसमा रहँदा मन्त्री बाँस्कोटा र विदेश राज्यमन्त्री लम्बानबीच द्विपक्षीय भेटवार्ता भएको थियो । त्यसक्रममा उहाँहरूबीच नेपाल र फ्रांन्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा उच्चस्तरीय भ्रमण आदानप्रलदान त्यसमार्फत आपसी सम्बन्ध अझ बलियो बनाउने, दुवै देशका साझा चासो र आकर्षणका क्षेत्र पहिल्याउने विषयमा विचारविमर्श भएको थियो ।