दुई हजार परिवार भेरीको उच्च जोखिममा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

जाजरकाेट,२ जेठ । ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ ।

रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् । आठबीसकोट नगरपालिकाका वडा नं ४, ५, ६, ११ र १३ तथा नलगाड नगरपालिकाका विभिन्न वडाका बासिन्दा उच्च जोखिममा छन् ।

आठबीसकोट–४ को छरिबगर, ५ को जलिगार, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर, ज्यामिरे, ११ का चौर, गतसैना, १३ का भल्मा, रिठा र वडा नं १४ का छेपारे, पिपलचौरलगायत बढी जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । यस्तै नलगाड नगरपालिकाका औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत ठाउँका बासिन्दा जोखिममा छन् ।

उनीहरु नदीको क्रासका बीच बस्दै आएका छन् । सडक निर्माणका त्रममा अत्यधिक मात्रामा ढुङ्गा, माटो र अन्य वस्तु नदीमा खसेपछि नदीले बहाव परिवर्तन गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक बनाउँदा नदी आसपासका अधिकांश बस्ती जोखिममा परेका हुन् ।

अघिल्लो वर्षको बाढीले रुकुम पश्चिम र जाजरकोटमा खेतीयोग्य जमीन तथा भौतिक संरचना बगाएको थियो । “यस वर्ष रोकथामको उपाय नअपनाए कुनै बस्ती जोगिँदैन”, स्थानीयवासी मोती बोहराले भन्नुभयो । आठबीसकोट–४ का वडाध्यक्ष डिलबहादुर सार्कीले नगरपालिकाले नदी कटानका लागि चालू आवमा रु ५० लाख विनियोजन गरे पनि कटान रोक्न सम्भव नभएको बताउनुभयो ।