नेवार समुदायको मौलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् ।

यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महीनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ । यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ ।

यस दिन नेवार समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकँुडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ ।

काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ ।