धनगढीबाट नक्कली नोट र मेसिनसहित चार जना पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि



धनगढी, २४ साउन । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिन सहित ४ जनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।
तीनजनालाई धनगढीबाट पक्राउ गरिएको भने गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ।
उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ।