बिहीबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडाै,३१ भदाे ।मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो । मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझनुपर्ने हुन्छ ।

आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि देशभरि सामान्य बदली रही देशको मध्य तथा पश्चिमीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन÷ चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १०.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगञ्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ ।