चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता काठमाडौं आउने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि


काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ ।

नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् ।

सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ ।

सी भ्रमणको तयारीकै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली शनिबार काठमाडौं आउँदै छ । नयाँ पत्रिकामा खबर छ।