नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २० पुग्याे,एकैदिन ५८६ जनामा सङ्क्रमण

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । कोेभिड–१९ का कारणले आज थप एक जनाको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीसँगै कोभिड–१९ का कारणले मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मिर्गाैलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पतालमा भर्ना भएकामा असार १ गते निधन भएको आज मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिलाको असार १ गते स्वाब सङ्कलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा सङ्क्रमण भएको थियो ।

५८६ जना सङ्क्रमण

मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड– १९ को सङ्क्रमण आज ५८६ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५४६ पुरुष र ४० महिलामा सङ्क्रमण देखिएको छ ।

आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । तीमध्ये छ हजार ६३८ पुरुष र ५३९ जना महिला रहेका छन् ।

नौ डिस्चार्ज

कोभिड– १९ को सङ्क्रमणबाट नौ जना पुरुष निको भई घर फर्किएका छन् ।

प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना रहेका छन् । अहिलेसम्म १ हजार १६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । तीमध्ये एक हजार ५५ पुरुष र ११२ महिला रहेका छन् । यसैगरी अहिलेसम्म एक लाख ४९ हजार ७७२ जनामा पिसिआर, दुई लाख ३३ हजार ९४३ जनामा आरडिटी परीक्षण गरिएको छ ।