आज महाशिवरात्रि पर्व, पशुपतिनाथकाे दर्शन गर्न तीन स्थानबाट लाइनकाे व्यवस्था

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने व्यवस्था गरिएकाे छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ । करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ ।