जुम्लामा आगलागी हुँदा ३५ घरसँगै अन्तपात जलेर नष्ट

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष बोहोराले भन्नुभयो, “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।” पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ ।

आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो ।