पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , April 30th, 2021

काठमाडाैं । कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो ।

शहरमा निशेधाज्ञा शुरु भएपछि हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन भने बाहिरबाट आएका क्वारेन्टिनमा समेत बसेका छैनन् ।

कोभिड नियन्त्रणका लागि गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन् । कोरोनाको कहर शुरु भएसँगै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेशन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले बन्द भएका हुन् ।

कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेशन, वडावडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए । तर अहिले ती सबै संरचना सञ्चालनमा छैनन् । कोभिडको सङ्क्रमण केही कम भएको समयमा सबै संरचना हटाइएको थियो ।

ती संरचनाका सामग्रीसमेत पुनः प्रयोगको अवस्थामा नरहेको पाइएको छ । विद्यालयमा राखिएका क्वारेन्टिन र ठाउँठाउँमा राखिएका हेल्थ डेस्कका सामान सुरक्षित नराखेका कारण अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा पहिलेको जत्तिकै पूर्वतयारी अपनाइहाल्न सक्ने अवस्था नरहेको देखिएको छ ।