- दिपक पुडासैनी
करिब ४ बर्ष कतारमा पत्रकारीता गरेका पत्रकार होम कार्कीले केहि समय पहिले सनैया नामक पुस्तक बजारमा ल्याए । सनैया अर्थात अरबिक भाषमा औधोगिक क्षेत्र जहां अधिकांस नेपाली श्रमिक हाड घोटेर पसिनाले पखाल्दै रगतले चोख्याएर देशमा रेमिट्यान्स पठाउंछन । त्यहि रेमिट्यान्सको पैसाले उसको घरमा चुलो बल्छ, कर्मचारीको घुस, कमिसन फल्छ, नेताले उपचार गर्छ, दलालले घर घडेरी र गाडी फेर्छ अनि उ आफै चांहि एक कप सुलेमानी मा दूईवटा खबुस चोपेर त्यो दिनको गुजारा गर्छ ।
हो होम कार्कीले त्यहि मजदुर जसले देश पालेको छ र देश पाल्न आफ्नो ज्यान फालेको छ उसैको कथा उतारेका छन सनैयामा । ३५९ पेजको पुस्तकमा १८ च्याप्टर छन । तर त्यतिमै सनैको कथा सुरु भएको पनि हैन र अन्त्य हुने अबस्था पनि छैन । पर्देशमा सुख हुंदै नभएको हैन तर कुहिरोको बिचमा रुमल्लीएको कागलाई कसले पो देख्छ र ?
लेखक र पत्रकारको समिश्रणबाट जन्मिएको भएर होला सनैया आफैमा परंम्परागत पुस्तक भन्दा फरक छ । यसले दुःख मात्रै बेचेर कमाउने अभिलाशा बोकेको देखिन्न । घर, गाउं, शहर, अनि आफ्नै देशका म्यानपावर र तिनका एजेन्ट तथा सरकारी कार्यालय देखि बिमानस्थल सम्म कति दुःख दिन्छन भन्ने प्रस्ट्याईएको छ ।
बिदेश पुुगेपछी पनि बिदेशिले पार्ने समस्या भन्दा नेपाली दलालले नै नेपालीलाई दिने दुःखको पोको ठुलो छ । त्यसरी दुःख दिने छिद्र फेरी नेपालबाटै मिलेमतो तयार गरीन्छ ।
यो पुस्तकको बारेमा बढी लेखेर पुस्तककै अपमान म गर्न चाहन्न, यसले दिन खोजेको सन्देश मेरा चारलाईन समिक्षाले पुरा हुन पनि सक्दैन । सांच्चै भनुुभने यो पुस्तक बिदेशमा रहेका बिशेषत खाडीमा रहेका सनैयाकै पात्रहरु स्वयंले पढेर मुल्याङ्कन गर्नु पर्ने त छंदै छ । देश भित्र जो बिदेश जान, गाएका वा पठाउन चाहने हरेकले एक पटक पढ्नै पर्छ । अनि पढ्नै पर्छ अध्यागमनका कर्मचारीले, श्रम मन्त्रालयका कर्मचारीले श्रममन्त्री र श्रम सचिबले, निति नियम बनाउने सांसद अनि हरेक निर्णायक तह र तप्काले । रगत पसिनाको समिश्रणबाट प्राप्त रेमिट्यान्सले भुडी भरेका र उपचार गरेकाले अब त नुनको सोझो गर्नकै लागी पनि बिदेशमा श्रम गर्न जाने र गएकाहरु अनि फर्कनेका लागी उचित नियम कानून र ब्यबहार गर्ने कि ? जसको लागी सनैया पुस्तका मार्ग दर्शन बन्न सक्छ ।