काठमाडाैं ।बिहीबार काठमाडौं आएलगत्तै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट शुरु गरेकी छन् ।एमसीसीको चर्काे विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट उनले भेटवार्ता सुरु गरेकी हुन् ।
उनी नेतृत्वकाे टाेली ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । एमसीसी उपाध्यक्ष सुमारलाई अध्यक्ष ओलीले त्यसबारेमा आफुहरुले तत्काल कुनै धारण नबनाउने र यसबारेमा सरकार नै स्पष्ट हुनुपर्ने जवाफ दिए। बर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने सरकारकै निर्णयमा भर पर्ने बताए ।
भेटमा एमसीसी उपाध्यक्षले अनुमोदन प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् । एमसीसीकोबारेमा भएका भ्रम र यथार्थताबारे उपाध्यक्ष फतिमाले एमाले अध्यक्ष ओलीलाई कन्भिन्स गर्ने प्रयास गरेकी थिइन् । स्राेतका अनुसार ओलीले नेपालको राष्ट्रियता विपरीत हुने बुँदा संशोधन गर्न जोड दिएका थिए । सुरूमा नै ओलीसँग गरिएकाे भेटलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

