बुटवल। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।
गोली लागेर घाइते भएकामध्ये तीन जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजका उपचारकाे क्रममा मृत्यु भएको जनाइएकाे छ। झडपका क्रममा १४ जना घाइते भएका थिए ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

