हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,२६ असाेज । आश्विन शुक्ल सप्तमीका दिन मंगलबार अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।