काठमाडौं । कोरोना भाइरसको महामारीको कहरमा परेका अति विपन्न पाँच लाख परिवारलाई सरकारले १० हजारका दरले नगद अनुदान दिने भएको छ।
ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्न लागेको हो ।
कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण दिनभरि कमाएर साँझ बिहानको छाक टार्न समस्या परेकाहरूलाई अनुदान दिन लागेको हो ।
त्यसका लागि आवेदन दिन अर्थमन्त्रालयले आज सार्वजनिकरूपमा आह्वान गरेको छ ।अति विपन्न वर्ग तथा समुदायले भने राज्यका तर्फबाट कुनै पनि सहयोग नपाएको चौतर्फी गुनासोपछि वर्तमान सरकारले पूरक बजेटमार्फत राहत दिने व्यवस्था गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा राहतस्वरुप एकपटकका लागि प्रतिपरिवार रु १० हजारका दरले नगद अनुदान दिन लागिएको जानकारी दिए । मन्त्रालयले आगामी १५ दिनभित्र स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।
गरिब, कम आय भएका, अति विपन्न तथा दैनिक ज्यालादारी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायाताका मजदुर, पर्यटक भरियालगायतले त्यस्तो अनुदान पाउनेछन् ।

