महाभारतको रोचक कथा, भीष्म – अभिमन्यु युद्ध

Lok Bhatta Banner Headline with Image , Latest Update , News/समाचार , Others/अन्य , Spiritual/अध्यात्म , साहित्य , ३ वर्ष अगाडि

कुरुक्षेत्र युद्धको पहिलो दिन दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए । युद्धको कोलाहल गुञ्जिरहेको थियो । ढोलहरू, सिँगहरू, शंखहरू र बिकुलहरू खलबल हुने गरी बजिरहेका थिए । उन्मत्त हात्तीहरूले तीखो स्वर निकालेर बिकुल बजाउन थाले । लडाकुहरूले सिंहनाद गरेर आवाज निकाले । बाणहरू उज्ज्वल उल्काहरू जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरूले पहिलेको प्रेम र सम्बन्धहरू बिर्सेर एक अर्का सँग काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड सुरुभयो ।

पहिलो दिनको मध्यान्ह कालमा पाण्डव सेनाहरू नराम्रोसँग सिथिल भए । भीष्मको रथ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य बन्यो । अभिमन्युले सो सहन सकेनन् र उनले भीष्म पितामहलाई आक्रमण गरे ।

सबभन्दा जेठा र सबैभन्दा कान्छाको बीच युद्ध सुरुभयो । त्यो युद्ध हेर्न देवताहरू पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्ज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो । शल्यलाई पाँचचोटी र भीष्मलाई नौ चोटी लागेको थियो ।

तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरू मध्य एउटा बाणले दुरमुखको सारथिलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपाचार्यको बाण भाँचि दियो । तमाशा हेर्न आएका देवताहरूले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य वीरहरूले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भने साँचै नै धनञ्जयको सुयोग्य पुत्र भएको रहेछ ।

तद अन्तर कौरब सेनाहरूले त्यस वीर नवयुबक उपर संयुक्त आक्रमण गरे, तर उनीहरू सबैको अगाडि उनी अविचलित भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरूलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमसेनले अति हर्ष गरेर बीर भतिजालाई प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।


वीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालकमाथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव–युवक वीर अभिमन्युलाई भरोसा दिन बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा धृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए ।

भीष्मले यसपछि पाण्डव सेनाको विनाश गर्न थाले ।

उता राजा शल्य र राजकुमार उत्तर बिच लडाइँ सुरु भयो । राजा बिराटको छोरा उत्तर ले हात्तीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरू मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनी लडेर मरे । तर हात्ती हटेर गएन । त्यसले हमला गर्दै रह्यो । तर शःयले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरूमा बाणहरूले प्रहार गरे । अनि त्यो हात्ती ठूलो स्वरले करायो र मर्यो ।

बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढाए । तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना वीरहरू आइपुगे । चारैतिरबाट उनिहरूले शल्यको रक्षा गरेका थिए । श्वेत उपर उनीहरूले बाणहरू वर्षा गराए । शस्त्रहरू बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए ।

श्वेतले शत्रुका सबै बाणहरू बीचैमा रोकिदिएका थिए । उनी माथि प्रहार गरेका गदाहरू पनि सबै काटीदिएका थिए । श्वेतले देखाएको कार्यकुशलतामा दुबै पक्षका योद्धाहरू छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरू पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहीहरूको नाश भयो । ध्वस्त भएका रथहरू र मरेका हात्ती घोडाहरू अनगिन्ति थिए ।

दुर्योधनका मानिसहरूलाई भगाउन श्वेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । त्यसपछि तिनीहरूले परस्परमा गदा प्रहार गरी युद्ध गरे ।

श्वेतले गदा रिङ्ग्याएर भीष्ममाथि प्रहार गरे । रथ चूर्ण भयो । तर पितामह भीष्म गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कानसम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली मर्यो । दुशासन सिँग फुकेर खुसी भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे ।

स्रोत : विकिपिडिया