जुम्लामा बहुप्रतिक्षित एमबिबिएस कक्षा सुरु

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

जुम्ला,२० मंसिर । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो ।  

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ ।  

उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने “ जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु । ”अर्का छात्रा अपेक्षा पराजुलीले प्रतिष्ठानका शिक्षक, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले आफू एमबिबिएस अध्ययन गर्न आएको जानकारी दिए । प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह ९एमडी० को अध्यापन सुरुआत भइसकेको छ ।

  सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । यसैगरी दार्चुला ९हाल धनगढी० निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी ९बी फार्मेसी०, नर्सिङ पनि अध्यापन पनि सुरुआत गरेको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् ।

  यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ । प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।  

अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष छ । “जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ ।