एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।

  उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार महासचिव डा बेदुराम भुसालले प्रस्तुत गरेकाे प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

  उक्त प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् । राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ ।   सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिने छ । बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।  

उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरित कार्य गरेको भन्दै बैठकले कारवाही गरेको हो । त्यसैगरी पार्टीको केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ ।  

यसैबीच, समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य खुला गर्ने भएको छ।  बैठकले पाँच दलीय गठबन्धनसँग सहकार्य जारी नै राख्ने तर शरण नपर्ने  निर्णय गरेकाे हाे ।