डाक्टर केसीद्वारा इलामबाट निःशुल्क सेवा सुरु

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

इलाम ।डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । आजदेखि २० दिनसम्म उहाँले सेवा दिनु हुनेछ ।

डा केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु बताउनुभयो । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँको भनाइ छ । सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् ।

त्यसबाहेक १५ वटा देश पुगेर उहाँले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् ।

डा केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । उहाँले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिनुहुने जनाइएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो । उहाँले आवश्यक सहयोगसहित सुरक्षा गार्डकोसमेत व्यवस्था गरिएको बताइएको छ ।