पतञ्जली र आइएमईबीच सम्झौता, भारतका १० हजार आउटलेटबाट नेपालमा पैसा पठाउन सकिने

Dipak Pudasaini Business/अर्थ ब्यापार , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रवास , २ वर्ष अगाडि

काठमाण्डौ,१५ भाद्र । भारतमा रहेका लाखौ नेपालीले पतञ्जली आयुर्वेदका १० हजार आउटलेट मार्फत अब सजिलै नेपालमा रेमिट्यान्स पठाउन सक्ने भएका छन । हिजो पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएपछी भारतमा रहेका नेपालीलाई पैसा पठाउन सहज भएको हो । सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।
समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सँम्बोधन गर्दै स्वामी रामदेव ले यो साझेदारीले भारत–नेपालवीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक माध्यम थपिएको बताउनुभयो ।
आचार्य बालकृष्ण ले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गर्दै यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साझेदारी घोषणा गर्न पाउँदा असाध्यै खुसी लागेको बताउँदै आचार्य बालकृष्णले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आउनुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्ने जानकारी गराउनु भयो ।
विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन् । एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ । यस सहकार्यको फलस्वरूप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन ्र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डियाले लिएका छन् ।
कार्यक्रममा भारतकालागी नेपाली राजदुत महामहिम डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरू लगायत इन्डियामा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो ।