आईएमईको ६३ दिने अफर शुरु, ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , प्रविधि , २ वर्ष अगाडि

काठमाडौं, १६ भदौ । देशमा रेमिट्यान्स भित्राउन अग्रणी भुमिका खेल्दै आइरहेको आईएमईले सेवाग्राही लक्षित ६३ दिने चाडपर्व लक्षीत विशेष अफर सार्वजनिक गरेको छ । हिजो केन्द्रिय कार्यालय पानीपोखरीबाट फेसबुक मार्फत ‘आईएमई साथैमा, मोबाइल हातैमा १० लाख खातैमा’ नामक अफर सार्वजनिक गरेको हो ।
नयाँ अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिने छ । त्यसैगरी हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ तथा अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार प्रदान गरिने आइएमईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


आइएमईले स्थापनाकालदेखि नै यस्तो अफर ल्याउने गरेको भन्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो अफर योजनाले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष ढकालले देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनु भयो । रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता रहेको ढकालको धारणा थियो ।
गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मंगलबार मात्रै राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा खुसी व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघरसंस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आईएमई ग्रुप तयार रहेको पनि अध्यक्ष ढकालले बताउनु भयो ।

आईएमईका ब्राण्ड एम्बासडर कलाकार दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आईएमईको अफरमा सहभागी हुन सेवाग्राहीहरूलाई आग्रह गर्नु भयो ।

आइएमईका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले आफ्ना सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न आईएमई सधै प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यही अनुरूपको तयारी पूरा गरेको जानकारी गराउनु भयो ।
आजदेखी कार्तिक १६ गते सम्म ९ हप्ता अर्थात ६३ दिन चल्ने ‘आईएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ अफरबाट कुल ८२ जना सेवाग्राही प्रतक्ष लाभान्वित हुने आइएमई द्धवारा जारी बिज्ञप्तीमा उल्लेख छ ।