मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

NewsBankNepal Business/अर्थ ब्यापार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गर्नुभयो ।

प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ ।

सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उहाँको भनाइ थियो । उहाँले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सचेत हुन जरुरी थियो, तर नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुँदैन थियो र श्रीलङ्काको जस्तो हुन पनि दिनुहुन्न, हामीसँग धेरै सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।”