अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको सहज जित

NewsBankNepal Banner Headline with Image , Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।पुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।  

सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको  गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।

२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।

३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो ।