आज भाईटिका, दिदीबहिनी पुर्ब र दाजुभाई पश्चिम फर्कनू

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , प्रवास , १ वर्ष अगाडि

काठमाण्डौ,१० कार्तिक । आज भईटिका अर्थात तिहारको अन्तिम तथा बिशेष दिन । परम्परा अनुसार आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनु भएको छ ।

दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको पनि अधिकारीले बताउनुभयो ।
यसवर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने पनि पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज देवताको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवँ सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवँ सामाजिक परम्परा छ ।

यसैबिच बर्षको एकदिन मात्र खुल्ने काठमाण्डौ स्थित रानि पोखरीको बिचमा रहेको बाल गोपालको मन्दिर आज बिहानै खुलेको छ । खुलेदेखीनै भक्तजनको अत्याधिक चाप रहेको मन्दिरमा दिदी बहिनी नहुने दाजुभाई तथा दाजुभाई नहुने दिदी बहिनीले दर्शन तथा पुजाआजा गर्ने गर्दछन ।