रास्वपा सरकारबाट बाहिरियाे, मन्त्रीले बुझाए राजीनामा,सरकारलाई दिएको समर्थन कायमै

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाउनुभएको हो ।

रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो । सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाउनुभयो । लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२/१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन कामका लागि जान्छु ।” पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भन्नुभयो, “उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीतिचाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।”