राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

NewsBankNepal Banner Headline with Image , Sports/खेलकुद , १ वर्ष अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त भएका छन् ।युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।

अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।

आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो ।

लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।