नेम्वाङलाइ पछिपार्दै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , स्थानीय निर्वाचन , १ वर्ष अगाडि

काठमाण्डौ, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।

पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ मतभार आवश्यक पर्छ ।

पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पूर्वसभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी भने मतदानमा सहभागि भएन ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकामा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

२००१ साल असोज २९ गते तनहुँको व्यसमा जन्मनुभएका पौडेल नेपाली कांग्रेस पार्टीबाट ६ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुहुन्छ । उहाँ ६ पटक सांसद, ५ पटक मन्त्री र १ पटक प्रतिनिधिसभाको सभामुख बन्नुभएको छ ।

फोटो साभार ः नेपाल प्रेस डटकम