भारत भ्रमणकै दिन भण्डारीले रोकेको नागरिकता बिधेयक पौडेलद्धवारा प्रमाणीकरण

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , १० महिना अगाडि

काठमाण्डौ, १७ जेठ । निबर्तमान राष्ट्रपति बिधादेबी भण्डारीले रोकेको नागरिकता बिधयेक लाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गर्नुभएको छ । आज बिहान उहाँले विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
बिधयेक प्रमाणीकरणका लागि गएको जेठ १२ गते सरकारले राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।


संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइ दिनुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै फेरि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।
संविधानअनुसार राष्ट्रपति भण्डारीले विधेयक १५ दिन अर्थात असोज ५ गतेभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि प्रमाणीकरण भएको थिएन ।


राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हो हुने भन्ने प्रष्ट नभएको बेला गएको १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
विधेयकमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।
कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा धेरैले नागरिकता लिनबाट वञ्चित भएकोतथ्याङ्क छ ।

यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि छ ।

यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ ।
तर प्रधानमन्त्रीको भारत भ्रमणकै दिन बिधयेक प्रमाणीकरण हुनुलाई भने धेरैले अर्थपुण रुपमा हेरेका छन ।