होम कार्की
काठमाडौँ — २०७८ असार दोस्रो साता । रियादको (साउदी अरब राजधानी) नेपाली दूतावासमा फोटो टाँसिएको एक निवेदन पुग्यो । त्यो निवेदन पठाइएको थियो, काठमाडौं सिंहदरबारबाट । लेखिएको थियो– असार ३ गतेदेखि साउदी अरबबाट हराइरहेका बर्दघाट–१, नवलपरासीका ३३ वर्षीय दीपेन्द्र विकको खोजी गराई पाऊँ ।
श्रीमतीसँग मोबाइलमा नियमित सम्पर्कमा रहेका दीपेन्द्र त्यस दिनदेखि हराएका थिए । १० वर्षे छोरा र ५ वर्षे छोरीका बाबु दीपेन्द्र अचानक बेपत्ता भएपछि परिवारमा भयानक आपत् आइलाग्यो । दाजुको खोजी सुरे गरे भाइ शुक्रबहादुरले । दीपेन्द्र २०१९ नोभेम्वरमा साउदी पुगेका थिए । त्यसअघि उनी नेपालमै गाडी चलाउँथे । स्काई ब्लु इन्टरनेसनल ओभरसिजमार्फत उनी लरी चलाउन साउदीको लेह ट्रान्सपोट्रेसन कम्पनी पुगेका थिए । कम्पनीसँग करार–पत्र थपेर साउदीमै काम गरिरहेका दीपेन्द्र हराएपछि वर्दघाटमा छटपटी भयो ।
कुनै नेपाली श्रमिक हराए वा सर्म्पकविहीन भए उसको नाम पहिले दूतावास पुग्छ । दूतावासले जेल र डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र) मा भएको नामावलीसँग जाँच गर्छ । त्यो नाम नामावलीमा भेटिएन भने मात्रै उसको खोजबिन सुरु हुन्छ । जेल र डिपोर्टटेसनको नेपाली–सूचीमा दीपेन्द्रको नाम भेटिएन ।
निवेदनमा उल्लेख थियो– दीपेन्द्रको नागरिकता–कपी र राहदानी नम्बर मात्रै । साउदीमा हराएका श्रमिक खोज्न त्यो कागजातले मात्रै पुग्दैन । श्रमिकको पहिचानलाई अकामा (परिचयपत्र) नम्बर अनिवार्य छ । अकामा भेटिए मात्रै श्रमिक आबद्ध वास्तविक कम्पनीको विवरण खुल्छ, तर दूतावाससँग अकामा थिएन । जवाजत (अध्यागमन) कार्यालयबाट अकामा नम्बर लिइयो । नम्बर जाँचपछि जवाजतले भन्यो, ‘दीपेन्द्र साउदी अरवको मज्जास्थित प्रहरी स्टेसनको थुनामा छ ।’
यही प्रारम्भिक सूचनाको आधारमा दूतावासका प्रथम सचिव ऋषिराम आचार्यले शुक्रलाई खबर गरे, ‘तपाईंको दाइ मज्जामा थुनामा परेको रहेछ । कारण बुझेर खबर गर्नेछौं ।’
परिवार ढुक्क भयो– मान्छे सकुशलै रहेछ । तर, साउदीमा के कारण थुनामा परेको हो ? पत्ता नलाग्दा परिवारलाई मानसिक तनाव सुरु भयो । दीपेन्द्र थुनामा पर्नुको वास्तविक कारण पत्ता लगाउन दूतावासले स्थानीय दुई कर्मचारीलाई मज्जा पठायो । रियादबाट दुई सय किलोमिटर टाढा छ– मज्जा । तर, मज्जा प्रहरी स्टेसनमा थिएनन् दीपेन्द्र । उनी कहिल्यै पक्राउ परेकै थिएनन्, उनलाई कहिल्यै त्यस स्टेसन ल्याइएकै थिएन । कहाँ थिए त दीपेन्द्र ? जवाजतको सूचना कसरी गलत भयो ?
बरु मज्जा प्रहरीले अर्को सुराक दियो– दीपेन्द्र रियादको मलाज जेलमा रहेको देखिन्छ । तर, जेलमा तुरुन्तै जान पाइँदैन । दूतावासले जेलमा आफ्ना कर्मचारी पठाउन साउदीको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने प्रोटोकल छ । पराराष्ट्रको अनुमतिपछि दूतावासले मलाज जेलमा परेका सबै नेपाली भेट्ने योजनासहित कर्मचारी खटायो । जेलमा अरू नेपाली भेटिए, दीपेन्द्र भेटिएनन् ।
साउदीमा कार्यस्थल वा सडक दुर्घटनामा श्रमिकको मृत्यु भए परिवारले क्षतिपूर्ति पाउँछ । तर, दीपेन्द्रको परिवारले पाएन ।
यसबीच दीपेन्द्र काम गर्ने कम्पनीको पनि खोजी भइरहेको थियो । कम्पनीले अर्को सूचना दियो, ‘दीपेन्द्रलाई हामीले साउदी सरकारको राहत सामग्री पुर्याउन यमन पठाएका थियौं । यमनको बाटैबाट ऊ हरायो । खोजीका लागि प्रहरीमा निवेदन दिइसकेका छौं ।’
दीपेन्द्र असार ८ मा यमन पुगेको रेकर्डले देखाउँछ । तर, साउदी फिर्ता भएको रकर्डले भन्दैन । यो पुष्टि जवाजतबाट भयो । तर, यमनमा नेपाली दूतावास छैन । यमन–मामिला हेर्ने जिम्मेवारी साउदीकै नेपाली दूतावासलाई छ । खोजबिनका लागि सहजीकरणको अनुरोधसहित नेपाली दूतावासले रियादकै यमनी दूतावासलाई पत्राचार गर्यो, तर जवाफ आएन ।
सन् २०१४ देखि आन्तरिक द्वन्द्वमा छ– यमन । इरान समर्थित हुन्थी विद्रोही र साउदी गठबन्धन समर्थित यमन सरकारबीचको सशस्त्र द्वन्द्व उत्कर्षमा छ । हुन्थीले यमनको राजधानी सानासहित दक्षिणी क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ भने यमन सरकारको नियन्त्रणमा छ, उत्तरी क्षेत्र । केही भूभागमा अलकायदा समूहको पनि नियन्त्रण छ । यो द्वन्द्वमा तीन लाख ७० हजार यमनीको मृत्यु भइसकेका छन् । ६० प्रतिशत यमनीको भोकमरी, उपचार नपाएपछि र शुद्ध पिउने पानीको अभावमा मृत्यु भयो । ४५ लाख जनता विस्थापित भइसकेका छन् । कुल जनसंख्याको ८० प्रतिशत अर्थात् दुई करोड ४१ लाख नागरिकलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ । महामारी बनेको हैजाबाट दुई लाख नागरिकको मृत्यु भइसक्यो । औषधि छैन, खाद्यान्न पनि छैन । विश्वमै सबैभन्दा ठूलो मानवीय संकटबाट गुज्रिएका छन् यमनी नागरिक । साउदी राजाको नाममा स्थापित ‘सलमान मानवीय राहत तथा उद्धार सेन्टर’ (केएस रिलिफ) ले हैजा–ग्रस्त यमनी नागरिकलाई ६६.७ मिलियन डलरको औषधि उपचार र खाद्य सामग्री उपलब्ध गराइरहेको छ ।
यस्तोमा साउदीबाट सहायता लैजाने ठेक्का दीपेन्द्रले काम गरिरहेको लेह ट्रान्सपोट्रेसन कम्पनीले पाएको थियो । यमनको आदेन, मरिव, अल जवफ र सैइन राज्यमा औषधि र खाद्यान्य पुर्याउने जिम्मेवारी केएस रिलिफले लेह ट्रान्सपोटेसनलाई दिएको थियो ।
साउदीसँग यमनको एक हजार ८ सय किलोमिटर बोर्डर जोडिएको छ । आतंकवाद, लागूऔषध र हातहातियारको अवैध धन्दा रोक्न १० फिट उचाइको पाइप राखी तारबार बेरिएको छ । बोर्डरको अधिकांश भाग ‘रुव अल खाली’ मरुभूमिले ओगटेको छ, जहाँ उडिरहने बालुवाको मसिनो पहाडैपहाड छ । यमनबाट एक सय मिलियन डलर बराबरको लागूऔषधका लागि प्रयोग हुने घाँसको पात (खत) को साउदी ओसारप्रसार हुन्छ । त्यो पातलाई घाँस मात्रै बुझेर ओसारपसार गर्दा थुप्रै नेपाली साउदी जेलमा छन् । साउदीबाट यमन प्रवेश गर्ने तीनवटा बोर्डर छ । दीपेन्द्रहरूले बोकेको राहत सामग्रीलाई तोकिएको स्थानमा पुर्याउन साउदी समर्थित यमन सरकारको नियन्त्रणमा रहेको अल वादिया बोर्डरबाट मात्रै प्रवेश दिइन्थ्यो ।
‘साउदीबाट दीपेन्द्रसहित १७ जना ड्राइभरहरू राहत सामग्री बोकेर यमन गएका हुन् । अरू सबै तोकिएको ठाउँमा पुगे । तर, बीच बाटोबाटै हराए दीपेन्द्र’, कम्पनीका व्यवस्थापकले दूतावासका प्रथम सचिव आचार्यलाई भनेका थिए, ‘यमन जान दीपेन्द्र उत्साहित हुन्थे । दुई वर्षको अवधिमा उनी सयौं पटक यमन गइसकेका अनुभवी ड्राइभर थिए । तर, पछिल्लो लटमा बाटैबाट हराउँदा हामी आफैं चकित छौं ।’ दीपेन्द्रको त्यस टोलीमा १३ पाकिस्थानी र चारजना नेपाली ड्राइभर थिए ।
राहत सामग्रीलाई साउदी–यूएईसहितको संयुक्त फौजले अल वादिया बोर्डरबाटै स्कर्टिङ गर्छ । त्यस दिन वादियाबाट ७ सय ३५ किलोमिटर टाढाको सुक्राह क्षेत्रसम्म त्यही सुरक्षा फौजले स्कर्टिङसहित पुर्याएको थियो । त्यहाँसम्म टोलीमै थिए दीपेन्द्र । सुक्राह अरवी समुद्रसँग जोडिएको पुरानो बस्ती हो । त्यो बस्तीबाट आदेनसम्मै अर्को कुनै ठूलो बस्ती भेटिँदैन । यमनको राजधानी सानालाई हुत्तीले कब्जा गरेपछि राष्ट्रपति अब्दुल्लाह मन्सुर हदीले आर्थिक र अस्थायी राजधानी बनाए आदेनलाई । सुक्राहबाट आदेन एक सय किलोमिटर टाढा छ । १४ घण्टा यात्रा गरिसकेका ती ड्राइभरहरूलाई सुक्राहमा बस्ने अनुमति थियो । सुरक्षाफौजले सुरक्षित ठानेको त्यो स्थानमा साउदी समर्थित यमन सरकारको नियन्त्रण छ । आतंकवादी संगठन अलकायदाको प्रभाव क्षेत्र पनि हो यो । सुक्राहबाट आदेनसम्मको त्यो भूमि द्वन्द्वग्रस्त क्षेत्र हो, जहाँ सुरक्षा जोखिम छ । संयुक्त सुरक्षा टोलीको स्कर्टिङबिना अघि बढ्नै सकिँदैन ।
‘हामी शुक्राह पुगेर बास बसेका थियौं । सबै लरी सडकछेउमै रोकिएको थियो । खानेकुरा, पकाउने भाँडाबर्तन गाडीमै राख्थ्यौं । हामीले लरी रोकेको ठाउँमै खाना बनायौं, खायौं । आ–आफ्ना गाडीमा गएर सुत्यौ’, एक नेपाली ड्राइभरले आचार्यलाई फोनमा भनेका थिए, ‘भोलिपल्ट बिहानै ५ बजे हिँड्ने तालिका थियो । सबै भेला भए, तर दीपेन्द्र देखिएनन् । दिसा–पिसाब गर्न गएका होलान् भन्ने सोचेर केहीबेर पर्खियौं, तर उनी आएनन् । वरिपरि खोज्यौं, फेला परेनन् । लरीको टाइम–कार्ड भएकाले धेरै बेर अल्मिलिन मिलेन । उनले चलाइएको लरी त्यहीा छाड्ने सल्लाह भयो । कम्पनीलाई खबर गरेर हामी स्कर्टिङमा आदेन गयौं ।’
कम्पनीले लरीलाई तोकिएको स्थानमा पुर्याउन साउदीबाट अर्को ड्राइभर खटायो । ट्रकको सामान जस्ताको तस्तै थियो । अर्को ड्राइभर तोकिएको स्थानमै राहत सामग्री पुर्याएर साउदी फर्के । सुक्राहबाट हराएका दीपेन्द्र कता गए ? कसैले अपहरण पो गर्यो कि ? खोजी भइरहेकै थियो ।
कात्तिक १९ मा सुक्राहको मुरिव मरुभूमिमा भेडा चराइरहेका फइज अब्दुल्लाह अनोओस (२६) ले दिउँसो तीन बजे लुगासहितको एक कंकाल देखे । कंकाल भेटिएको त्यो ठाउँ हाइवेबाट तीन किलोमिटरभित्र पर्छ, जुन आतंकवादी अलकाइदाको प्रभाव क्षेत्र हो । उनले तुरुन्तै प्रहरीलाई खबर गरे । आखिर त्यो कंकाल कसको थियो ?
कंकालसँगै भेटियो– दीपेन्द्रको राहदानी, ड्राइभिङ लाइसेन्स, कालो रेडमी मोबाइल फोन, केही साउदी रियाल र ५ जोर्डनी मुद्रा । कपडा सडेको थिएन । मात्रै बाँकी थियो– घामले सुकेको हड्डी र छाला ।
प्रहरीले अनुसन्धानका लागि ‘फोरेन्सिक’ टोली बोलायो । टोलीले कंकाललाई अल–राजी अस्पताल पुर्यायो । थप अनुसन्धानपछि कंकाललाई अल सादाका अस्पतालमा राखियो ।
यमनको अभिएन प्रान्तीय प्रहरी मुख्यालयद्वारा दिइएको रिपोर्टमा लेखिए अनुसार, त्यो घटना अपराध अनुसन्धान विभागबाट छानबिन गरिएको
थियो । दीपेन्द्रको पार्सपोर्ट, लाइसेन्स र मोबाइलको आधारमा त्यो कंकाल दीपेन्द्रकै भएको दाबी विभागको थियो । द्वन्द्वमा फसेको यमनले कंकालको डीएनए परीक्षणलाई महत्त्व दिएन । रिपोर्टमा भनिएको छ, ‘दीपेन्द्रको हत्या योजनाअनुसार गरिएको हो । उनको कन्चट, पेट र खुट्टामा नजिकैबाट गोली हानिएको छ ।’
अनुसन्धान विभागले गोली हान्ने व्यक्ति र समूह पहिचान गर्न सकेको छैन । कम्पनीले दीपेन्द्रको कंकाल भेटिएको खबर नेपाली दूतावासलाई गरायो । दूतावासको आग्रहमा कम्पनीले आफ्नो प्रतिनिधिलाई यमन खटायो । त्यो खबर शुक्रले पनि पाए । ‘हामीलाई रहस्यमय लाग्यो । कहिले जेलमा छ भन्ने, कहिले साउदीमा छ भन्ने, कहिले यमन पुगेको छ भन्ने । यसको अनुसन्धान हुनुपर्यो’, शुक्रले नेपाली दूतावासलाई फोनमा भने, ‘हाम्रो मान्छेलाई कसले हत्या गर्यो ? यसको उचित ढंगले छानबिन हुनैपर्छ ।’
यमन सरकारले भने ‘छानबिन भइसकेको’ भन्दै हत्या गर्ने व्यक्ति पहिचान गर्न नसकिएको जवाफ कम्पनीलाई दियो । प्रहरीले भनेको थियो– दीपेन्द्रको कंकाल भेटिएको ठाउँ अलकायदाको प्रभाव क्षेत्र हो र हत्या उनीहरूबाटै भएको हुन सक्छ । ‘हामी क्रस एरियामा जान सक्ने अवस्थामा छैनौं’, यमन प्रहरीले कम्पनीलाई दिएको जवाफ यस्तो थियो । अन्ततः छानबिन अघि बढेन ।
दीपेन्द्रको कंकाल यमनमै अन्त्येष्टि गर्ने पक्षमा कम्पनी देखियो । ‘यमनबाट साउदीतर्फ हवाई उडान छैन । सडकबाट साउदी ल्याउन अनुमति छैन’, कम्पनीले नेपाली दूतावासलाई भन्यो, ‘मिल्छ भने शवलाई यमनमै अन्त्येष्टि गर्न अनुमति दिनुस् । पीडित परिवारलाई हामी शव पठाउन लाग्ने खर्च बराबरको रकम दिन्छौं ।’
यमनदेखि नेपालसम्म शव पठाउन झन्डै ९ हजार डलर खर्च लाग्छ । त्यति रकम परिवारलाई दिन कम्पनी तयार भयो । शव पठाउने प्रबन्ध गर्न कठिन भएको भन्दै कम्पनीले त्यसमा अरू कर्मचारी खटाउन जोखिम रहेको अवस्था देखायो । तर, पीडित परिवारले कम्पनीको प्रस्ताव अस्वीकार गरिदियो । ‘जे जस्तो हालतमा छ । हामीलाई शव नै चाहिन्छ । हाम्रो रीतिथिति अनुसार अन्त्येष्टि गर्नुपर्छ । मान्छे नै नरहेपछि पैसाको के अर्थ ?,’ शुक्रले दूतावासलाई भनिदिए, ‘हामीलाई छिटो शव चाहियो ।’
इजिप्टबाट आदेन कार्गो आउने खबर कम्पनीले पायो । त्यही कार्गोमा इजिप्ट हुँदै शव नेपाल पठाउने योजना कम्पनीले बनायो । कम्पनीले परिवारसँग सहमति नै नलिई आदेन विमानस्थलबाट शवलाई एयर कार्गोमार्फत इजिप्ट पुर्याइयो । शव इजिप्ट पुगेको खबर पाएपछि परिवारले त्यो बुझ्नका लागि काठमाडौं आउन मानेन । ‘हामीलाई शव इजिप्ट पुगेपछि ‘काठमाडौंमा शव बुझ्न आउनू’ भन्ने खबर आयो । शवलाई काठमाडौं नभई साउदी लैजानुपर्ने सर्त राख्यौं हामीले । साउदीमा लगेर अनुसन्धान गर्नुपर्छ’, शुक्रले नेपाली दूतावासलाई भने, ‘यमनको अनुसन्धानमा हामीलाई चित्त बुझेको छैन । उचित अनुसन्धान नभएसम्म हामी शव बुझ्दैनौं । हाम्रो मान्छे साउदी गएको हो, उनको जिम्मेवरी साउदीले नै लिनुपर्छ ।’
नेपाली दूतावासले ‘शव फेरि साउदी ल्याउन नसकिने’ भन्यो र त्यो बुझ्न परिवारलाई अनुरोध गर्यो । दूतावासले परिवारसँग सहजीकरण गर्न वडाअध्यक्षदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई गुहार्यो । प्रजिअसँगको छलफलपछि इजिप्टमा रोकिएको शव टर्की हुँदै काठमाडौं आइपुग्यो ।
‘हामीले पाएको कंकाल नै दाइको हो कि होइन भन्ने शंका थियो । लुगा र शवसँग भेटिएको परिचयपत्रको आधारमा यो शव दीपेन्द्रको हो भनिएको छ’, शुक्रबहादुरले भने, ‘काठमाडौं ल्याएपछि डीएनए टेस्ट गर्ने पक्षमा थियौं, केही समय पर्खनुपर्ने भनियो । शव राखेको र डीएनए गरेको ठूलो खर्च लाग्ने रहेछ । सबैको सल्लाहले गाउँकै त्रिवेणी लगेर अन्त्येष्टि गरियो ।’
दीपेन्द्रको परिवारले साउदी सरकारबाट क्षतिपूर्ति अझै पाएको छैन । ‘श्रम स्वीकृति र बिमाबाट पाउने राहत रकम त लियौं । न हामीलाई कम्पनीले नियमअनुसारको क्षतिपूर्ति दियो, न साउदी सरकारले नै केही पठाइदियो’, उनले भने ।
साउदीमा काम गर्ने श्रमिकको मृत्यु भए वा अंगभग भए गेसोमार्फत क्षतिपूर्ति पाइन्छ । तर, गेसोले कार्यस्थल वा सडक दुर्घटनामा ज्यान गएकालाई मात्रै क्षतिपुर्ति दिन्छ । दीपेन्द्रलाई गेसोले क्षतिपूर्ति दिएन । ‘हत्याको केसमा क्षतिपूर्ति मिल्दैन । फेरि यमनमा भएको घटनाको जिम्मेवारी गेसोले लिँदैन,’ गेसोले नेपाली दूतावासलाई भन्यो ।
नेपाली दूतावासले क्षतिपूर्ति दिन ‘राजा सलमान मानवीय राहत तथा उद्धार सेन्टर’ लाई पनि अनुरोध गरेको थियो । सेन्टर श्रमिकको उत्तरदायित्व ठेक्का लिने कम्पनी हुन्छ भन्दै जिम्मेवारीबाट पन्छियो । कम्पनीचाहिँ ‘साउदीबाट यमनसहित अन्य देशमा सामान लिएर जाने ड्राइभरहरूका लागि विशेष बिमा नीति साउदी सरकारको नभएको’ भनेर पन्छियो । र, राहतस्वरूप कम्पनीको तर्फबाट १५ हजार रियाल (४ लाख ५० हजार नेपाली रुपैयाँ) उपलब्ध गरायो ।
दीपेन्द्रको परिवारले न उचित क्षतिपूर्ति पाए, न चित्तबुझ्दो छानबिनै भयो । शुक्रबहादुरसँग केही प्रश्न छन् :
– दीपेन्द्र किन मारिए ? कसले हत्या गर्यो ?’
– साउदीमा काम गर्न गएको श्रमिकलाई द्वन्द्वग्रस्त मुलुकमा कसरी पठाइयो ? नेपालसँग अनुमति लिनुपर्ने हो कि होइन ?
– साउदीले सरकारी राहत लैजाने श्रमिकको सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्छ कि पर्दैन ?
– बिनाबिमा द्वन्द्वग्रस्त मुलुकमा काम लगाउने जिम्मेवारी साउदीले लिनुपर्ने हो कि होइन ?
– यस्तो घटनामा नेपाल सरकारले आधिकारिक जवाफ साउदीसँग खोज्नुपर्ने हो कि होइन ?