बाख्रा पालक किसानले मन्त्रीलाइ थर्काउँदै भने, ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ ?

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ११ महिना अगाडि

बुटवल, २५ भाद्र । व्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका छन्।
हिजो लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो।

कार्यक्रमका प्रमुख अतिथि थिए, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर। कार्यक्रमको सुरुमा निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेश सिह कुँवरले ४ करोड ९८ लाख, ६१ हजार रूपैयाँ बराबरको कार्यक्रम र बजेट प्रस्तुत गरे।

त्यसपछि केही समस्या राख्न किसानलाई समय दिइयो। बोल्न अगाडि पुगे बाख्रापालक कृषक, महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेल। पौडेलले सैनामैनामा व्यावसायिक बाख्रापालन गर्छन्। मन्त्रीका अगाडि समस्या राख्न भन्दै पुगेका पौडेलले कसैले पनि किसानको हितमा नीति र कार्यक्रम ल्याउन नसकेको भन्दै गुनासो गरे। एउटा किसानले १८ घण्टा काम गर्दा १ रूपैयाँ पनि पाउन नसकेको भन्दै उनले राज्यका नीति निर्माताबाट पनि किसानमाथि शोषण भएको बताए।
त्यत्तिकैमा उनले आक्रोशित हुँदै मन्त्रीतर्फ फर्केर भने, ‘देशमा अति भयो। मैले खुकुरी बोकेको छैन। चप्पल खोलेर भर्खर हान्न सक्छु,’ मन्त्रीलाई ईंकित गर्दै उनले थपे, ‘तपाईंले रोक्न सक्नुहुन्छ ?’ यसो भनिरहँदा मन्त्री अहिरले मोबाइलमा ध्यान दिएका थिए। उनी नाजवाफ थिए।

उनको आक्रोस त्यतिमै रोकिएन।‘वर्गीय समाजमा राज्य सत्ता बलियो हुन्छ। सबैभन्दा शोषण राजनीतिज्ञले गर्छ। पीडित किसान हुन्छ। सबैभन्दा ठूलो शोषकको प्रतिनिधि मन्त्री हो। हतियार नबोके पनि यो युद्ध हो, मन्त्रीज्यू। तपाईं जुन पार्टीको हुनुहोस्। जति पटक मन्त्री फेरिंदै खानुस्। हामीलाई कुनै गर्व लाग्दैन,’ पौडेलले थपे।

उनले किसानमाथि पटक–पटक धोका भएको भन्दै जायजेथा बिक्री सकेर व्यवसायमा लाग्दा प्रतिफल शून्य भएको बताए। कार्यक्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका पौडेलले मन्त्री अहिरलाई ‘तपाईंलाई म पालिदिन्छु’ भन्न समेत भ्याए। उनले भने, ‘मन्त्रीज्यू, यो तरिकाले मन्त्री नहुनु। जिउ पाल्न अरू तरिकाले सकिन्छ। मैले ५ सय बाख्रा पालेको छु। आउनु म तपाईंलाई पालिदिन्छु। तर नीति निर्णय गर्ने ठाउँमा बसेर अरुमाथि अन्याय गर्नु भएन।’

पौडेलले मन्त्री गाडीमा किन चढेको होला भनेर आफैंलाई लाज लागेको पनि बताए। उनले राष्ट्रको स्वाधीनता, आत्मनिर्भरता सबै सिद्धाउने पछिल्लो पुस्ता नेता भएको समेत बताए। साथै आफू जस्ता किसानलाई बारम्बार झुक्काएकै कारण मञ्च अगाडि राखेर गीत सुनाउन ल्याएका मन्त्रीलाई झ्याँक्नुपर्ने अवस्था आएको बताए। ‘सरकारी कार्यक्रममा अक्सर मलाई बोलाउँदैनन्। झुक्किएर बोलाउँछन्। किनकि कवाबमा हड्डी हुन्छ। सबैले गीत गाउन ल्याएको मन्त्रीलाई अघि राखेर झ्याँक्नुपर्ने कारण त उहाँले बनाएको हो नि। सबैलाई यसैगरी भनेको छु,’ उनले भने। पौडेलले मन्त्री अहिरलाई काम गर्ने मान्छे ठीक नभए परिवर्तन गर्न र नीति ठीक नभए नीति नै परिवर्तन गरेर भए पनि किसानको समस्या समाधान गर्न आग्रह गरे।

कार्यालय प्रमुखलाई भेटेनरी डाक्टर राख्छु भनेपछि हल्लीखल्ली

कार्यक्रममा बोल्ने क्रममा कृषक पौडेलले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेश सिंह कुँवरलाई राम्रोसँग काम नगर्ने भए आफ्नो फार्ममा जागिर दिने समेत बताए। पौडेलले भने, ‘तपाईंको जति तलब म दिन्छु। तपाईं भेटनरीको मान्छे हो मलाई डाक्टर चाहिएको छ। आउनुस् काम गर्न। तपाईंलाई जे मन लाग्यो त्यो गर्न मिल्छ ?’ यसपछि भने हलमा केही हल्लीखल्ली भयो।

जवाफमा कुँवरले मर्यादित शब्द चयन गर्नुस् भन्दै पौडेलमाथि प्रतिप्रश्न गरे। उनले भने, ‘मर्यादित हुनुस्। म कर्मचारी मात्र हो ? किसान पनि हो। सुझाव दिनुस्। म आएको १५ दिन भएको छ, सबै काम गर्न सक्छु? तपाईंले मलाई जागिर दिन्छु भन्ने हो ?’

यति भनेपछि कर्मचारीहरूले नै डा. कुँवरलाई नबोल्न आग्रह गरेका थिए।

पौडेलले सोही क्रममै किसान सबल बन्न देश सकिनुपर्ने वा किसान नै सकिनुपर्ने भन्दै कर्मचारीहरूलाई पनि किसान निचोरेर जागिर भएको बताए।

म १२ वर्षदेखि बाख्रा पालिरहेको छु। मेरो हालत हेर्नुस्। भर्खर ८० लाखमा किनेको घडेरी ५० लाखमा बेचें। २० लाख लिएर फार्म चलाएको छु। अनि तपाईं अफिसरहरूले किसानको कुरा किन सुन्नुहुँदैन,’ उनले गुनासो गरे।

उनले कृषकलाई फाइदा हुने योजना बनाउन निर्देशनालयलाई बारम्बार आग्रह गरे पनि त्यो निर्देशनालयले नगरेको बताए। ‘पशुलाई कुनै पोषण दिने कार्यक्रम राख्नुस् भनेर भनेको हो। रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने कार्यक्रम राख्नुस भनेर भनेका हौं। घाँस काटेर खुवाउन सक्ने अवस्था छैन। जग्गा नै छैन। मासुमा उत्पादनमा आधारित अनुदान भनेको छ। त्यो रकम २० प्रतिशत पनि दिन सक्दैन। अनि यहाँ नाटक गर्ने ? यो फिल्म हल हो? ’ उनले आक्रोश पोख्दै भने।

पौडेलले किसानलाई कहिलेसम्म झुक्याउने भन्दै बारम्बार प्रश्न गरे, ‘तपाईंको जागिर छ। तलब आउँछ, घट्दैन। तपाईंको आए बापत मेरो नोक्सानी हुन्छ बरु,’ उनले भने। उनले सरकारले निर्देशनालय खारेज हुने बताएपछि सबैभन्दा बढि खुसी आफू भएको समेत बताए। ‘सरकारले निर्देशनालय खारेज हुने भन्यो। हामी किसान कहि पनि गएनौं। किनकि यी नभएकै राम्रो। मेरो लागि एउटा बाख्रोभन्दा अफिसर ठूलो हुन सक्दैन। तपाईंको लापरबाहीले मेरो बाख्रा मर्छ भने तपाईंले के गर्नुभएको छ?’, उनले थप आक्रोस पोखे।

सबैभन्दा शोषण राजनीतिज्ञले गर्छ। पीडित किसान हुन्छ। सबैभन्दा ठूलो शोषकको प्रतिनिधि मन्त्री हो। हतियार नबोके पनि यो युद्ध हो, मन्त्रीज्यू।

कार्यक्रममै बंगुर पालक किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टिला बहादुर सूर्यवंशीले किसान को खोर नै रित्तिएका बेला किसानमैत्री कार्यक्रम सरकारले ल्याउन चुकेको बताए।
त्यसपछि बोलेका मन्त्री अहिरले कृषिको विकासका लागि लुम्बिनी प्रदेश सरकार लागिपरेको बताए। साथै किसानको अधिकतम समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताउँदै सबै जना मिलेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे।


बिकाश पराजुलीले लेखेको यो समाचार हामिले ukeraa.com बाट साभार गरेका हौ ।